कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

माधव अर्याल

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकाले औलो अर्थात् मलेरिया संक्रमण रोक्न २ हजार ५ सय थान झुन वितरण गरको छ । पूर्वखोला–३, रिङ्नेरहमा गएको असोजमा औलोको बिरामी भेटिएकाले संक्रमण रोक्नका लागि झुल वितरण गरेको हो । 

पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

गाउँपालिकाले पहिलो चरणमा रिङ्नेरहमा झुल वितरण गरेको छ । गत असोज ५ मा परीक्षण गर्दा एक जनामा औलो संक्रमण देखिएको थियो । यो औलो स्थानीय भएको पुष्टि भएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

लामखुट्टे बढ्ने सिजन सुरु भएकोले संक्रमणको त्रास हटाउन झुल वितरण गरेको उनले बताए । उमेर र अवस्था अनुसार एउटा परिवारमा कति झुल वितरण गर्ने भन्ने मापदण्ड तयार गरेर त्यसैको आधारमा वितरण गरेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।

सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त राष्ट्र बनाउने रणनीति अघि सारेको छ । तर, कतिपय जिल्लामा औलो संक्रमण झन् झन् बढ्ने क्रममा देखिएको छ । पछिल्लो चार वर्षमा औलो संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनमा लामखुट्टे बढ्दै गएको र त्यसका लागि झुल उपयुर्क्त भएको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् ।

पाल्पामा एक वर्षको अवधिमा ६ जना औलो बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार तानसेन नगरपालिकामा एक जना, रामपुर नगरपालिकामा दुई जना, माथागढी गाउँपालिकामा २ जना आयातित औलोका बिरामी भेटिएका हुन् । पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय औलो बिरामी भएको डा. गिरीले बताए ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी औलोका बिरामी लुम्बिनी प्रदेशमा भेटिएको उनले बताए । मुलुकभर २०८०/८१ मा कुल ५ सय ७४ जनामा औलो संक्रमण भेटिएको छ । त्यसमा ५ सय ५६ जनामा देखिएको परजिवी आयातित हो । बाँकी १८ जनामा स्थानीय परिजिवी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यहि १८ मध्येको एउटा संक्रमण पाल्पाको पूर्वखोला गाउँपालिका–३, रिङ्नेरहमा देखिएको हो ।

चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा कुल २ सय ३३ जनामा औलो भेटिएको डा. गिरीले बताए । पछिल्लो समयमा पाल्पामा पाँच वटा मलेरियाका बिरामी फेला परेका छन् । पछिल्लो समय तराईबाट पहाडमा डेंगी, मलेरिया लगायतका रोग उक्लिएको छ । आवतजावत, बसाइँसराइ, सवारी साधनले पनि त्यस्ता रोग ल्याउने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीले बताए । उनका अनुसार कतिपय जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गरेको छ ।

भारतमा बसेर बिदामा फर्किनेहरू घर छुट्टीमा आउँदा औलो ल्याएका भित्रिएको डा. गिरीले बताए । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो सात वर्षयता स्थानीयस्तरमा लामखुट्टेको टोकाईबाट मलेरिया पोजेटिभ देखिएको थिएन । ‘विगतमा जति पनि भेटिएका थिए, ती भारत लगायत तेस्रो मुलुकबाट आयातित थियो,’ स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले भने, ‘तर स्थानीयस्तरमै देखिएको धेरै वर्षपछिको हो ।’

संक्रमित किशोरले १७ दिनसम्म औषधि खानु परेको थियो । औषधी खाएपछि अवस्था सुधार आएर पहिलेको स्थितिमा पुगेको पूर्वखोला स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । पूर्वखोलामा देखिएको मलेरिया पोजेटिभ अन्य व्यक्तिबाट नभई सोही स्थानकै लामखुट्टेले टोकेर देखिएको पुष्टि भएको उनले बताए । संक्रमित किशोरलाई ज्वरो आएको र स्थानीय स्वास्थ्य चौकीमा आरडिटि गर्दा पोजेटिभ देखिएको थियो । स्वास्थ्य कार्यालय लगायत ३२०४० मा एसएमएस गरेपछि उनको पुनः जाँच गरिएको थियो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत भट्टराईका अनुसार माइक्रोस्कोपीबाट पुनः जाँच गर्दा पुष्टि भएको हो ।

फोहोर पानीको पोखरीले मलेरिया फैलाउने बढी सम्भावना हुने स्वास्थ्यकर्मी रेमबहादुर दिशा मगरले बताए । फोहोर पानीले लामखुट्टेका लागि अनुकूल प्रजनन अवस्था प्रदान गर्दछ । मलेरिया परजीवी अधिकांश सङ्क्रमित लामखुट्टेमार्फत मानिसमा फैलिन्छ । ज्वरो आउने, टाउको दुख्ने र चिसोलगायतका लक्षण निम्त्याउने सम्भावना बढी हुन्छ । धेरैजसो पाँच वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवतीलाई असर गर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले बताए ।

भिडभाड भएको क्षेत्र, जमेको पानी, खराब सरसफाइ तथा उपचार र रोकथाम सामग्रीसम्म पहुँचको अभावले यसबाट बिरामी हुने र मृत्युसम्म हुने गरेको छ । जिल्लामा परीक्षणको अवस्था पनि ठिकै भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तथ्यांक अधिकृत टुकलाल पोखरेलका अनुसार जिल्लाभर गतवर्ष १ हजार ८ सय १७ जनाको परीक्षण गरिएको थियो । सबैभन्दा धेरै तानसेनले ५ सय ५६ जनाको परीक्षण गरेको उनले बताए ।

रिब्दीकोटले ३९७, माथागढीले २६९, रैनादेवी छहराले २०५, बगनासकाली गाउँपालिकाले १२७ जनाको मलेरिया परीक्षण गरेको थियो । रम्भाले ८९, पूर्वखोलाले ७०, रामपुरले ६८, निस्दीले ८२, तिनाउले २२ जनामा परीक्षण गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले औलौ अर्थात् मलेरिया पहाडतिर फैलिनुको कारण खोजी गर्नुपर्ने बताए । ‘अघिल्लो वर्ष डेंगी निकै फैलियो,’ उनले भने, ‘यसैगरी मलेरिया फैलिन सक्ने भएकाले सचेत हुनुपर्छ ।’

प्रकाशित : वैशाख २१, २०८१ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?