कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढीलाई ठग्ने गिरोह पक्राउ

काठमाडौँ — जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरूसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढीलाई ठग्ने गिरोह पक्राउ

पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए ।

उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए । त्यस्तै निज राजन श्रेष्ठलाई मिति २०८१,०१,२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं-२९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए ।

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५/१६ वर्ष अगाडि हराएको र विगत ३ वर्षदेखि पठाओ चलाई जीविका चलाउने सामान्य व्यक्ति रहेको र निजले हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको बताए ।

प्रकाशित : वैशाख २१, २०८१ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?