कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

इजरायल-प्यालेस्टाइन युद्धको रिपोर्टिङ गर्ने ३ कान्तिपुरकर्मी सम्मानित

काठमाडौँ — इजरायल-प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना कान्तिपुरकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो ।  

इजरायल-प्यालेस्टाइन युद्धको रिपोर्टिङ गर्ने ३ कान्तिपुरकर्मी सम्मानित

महासंघले आफ्नो २७ औं महाधिवेशनको अवसरमा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक कार्की, कान्तिपुरका फोटो सम्पादक तिमिल्सेना र कान्तिपुर टिभीका भिडियोग्राफर प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो । उनीहरूलाई सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्मानपत्र हस्तान्तरण गरेकी हुन् ।

महासंघले सम्मान गर्दै भनेको छ, 'सन् २०२३ अक्टोबरमा १० जना नागरिक समेतको ज्यान जाने गरी भएको इजरायल-प्यालेस्टाइन युद्धको साहसिक रिपोर्टिङ गरी नेपाली पत्रकारिताको गरिमालार्य उचो पार्नु भएका यहाँलाई प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको अवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ ।'

इजरायल र हमासबीचको युद्ध चर्केको आठौ दिन कान्तिपुरले पत्रकार कार्कीको नेतृत्वमा तीन सदस्यीय टोलीलाई स्थलगत रिपोर्टिङ गर्न इजरायल पठाएको थियो । अक्टोबर ७ तारिख शनिबार बिहान हमासले इजरायलभित्र छिरेर आक्रमण गरेको थियो । हमासको आक्रमणमा परी एक महिनाअघि मात्रै ‘लर्न एन्ड अर्न’ का लागि कृषि सिक्न र बुझ्न पुगेका सुदूरपश्चिमका १० जना कृषि विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरका विपिन जोशीलाई भने अझै हमासले बन्धक बनाइराखेको छ ।

जेरुसेलमस्थित सरकारी प्रेस कार्यालय (जीपीओ)का अनुसार युद्ध सुरु भएको पहिलो हप्ता नै स्थलगत रिपोर्टिङ गर्न नेपालबाट तीन पत्रकारसहित विश्वभरबाट दुई हजार ५० जना पत्रकार इजरायल पुगेका थिए । यो युद्धलाई इजरायलले ‘फलामको हतियार’ नाम दिइएको छ ।

प्रकाशित : वैशाख २१, २०८१ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?