कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

जिन्दगीको दोस्रो ड्राफ्ट

२७ सेकेन्ड लामो समय हो । यो आत्मीयताको अद्वितीय आधा मिनेट हो, जहाँ जीवन र मरणको भेट हुन्छ ।

२७ सेकेन्ड ! ‘त्यो लामै समय हो ।’ ‘सिक्स्टी मिनेट्स’ मा पत्रकार एन्डरसन कुपर र सलमान रुस्दीको वार्तालाप चलिरहन्छ । तर, अचानक दुवै मौन बस्छन् । रुस्दीलाई अगस्ट १२, २०२२ को २७ सेकेन्ड अनुभूत गराउँछन् कुपर । ‘त्यो लामै समय हो । यो आत्मीयताको अद्वितीय आधा मिनेट हो, जहाँ जीवन र मरणको भेट हुन्छ,’ रुस्दी भन्छन् । 

जिन्दगीको दोस्रो ड्राफ्ट

सलमान रुस्दीलाई अगस्ट १२, २०२२ मा न्युयोर्कस्थित सोटोक्वा इन्स्टिच्युसनमा चक्कु हानियो । रुस्दीको शरीरमा आक्रमणकारीले १५ चोटि चक्कु घोपे । घाँटी, हात, छाती, पेट र साँप्रामा गहिरा चोट लाग्यो । ‘फतवा’ जारी भएको १२ हजार २ सय ३२ दिनपछि अयातोल्लाह खोमेनी–प्रशंसकले रुस्दीमाथि आक्रमण गरे । भर्खरै प्रकाशित संस्मरण ‘नाइफ : मेडिटेसन्स् आफ्टर एटेम्प्टेड मर्डर’ मा रुस्दी भन्छन्, ‘म उसको नाम लिन चाहन्नँ । मेरो आक्रमणकारी, मेरो हुन सक्ने हत्यारा ।’ शालीनतापूर्वक आक्रमणकारीलाई उनी ‘ए’ भन्छन् ।

सिटी अफ असाइलम पिटर्सबर्गका सहसंस्थापक राल्फ हेनरी रिजसँग रुस्दीको कुराकानी हुनै लागेको थियो । त्यति नै बेला २४ वर्षीय आक्रमणकारीले रुस्दीमाथि चक्कु हानेका हो । ‘ए’ ले न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा सोटोक्वाको कार्यक्रमबारे ट्विटमार्फत थाहा पाएको बताउँछ । युट्युबमा इमामहरूको भाषण सुनेकै आधारमा ऊ खोमेनीको प्रशंसक बनेको थियो । उसले रुस्दीका पुस्तक पढेकै थिएन ।

रगत धेरै बगिसकेकाले मुटुमा रक्तसञ्चार नरोकियोस् भनेर केहीले रुस्दीको खुट्टा माथि उचाले । रुस्दीले लगाएका कपडा काटिएका थिए भने उनको खुट्टा हावामा उचालिएको थियो । त्यतिबेलाको धूमिल सम्झना छ रुस्दीलाई, ‘केहीले पाखुराले मेरा खुट्टा उचालेका थिए । किंग लियरजस्तै म पनि पूर्ण होसमा थिइनँ ।’ घाँटीबाट अत्यधिक रगत बगेपछि कसैले हत्केलाले नै थिच्नुपर्‍यो । त्यतिबेला रुस्दीलाई लाग्यो– जिन्दगी अझै लामो बाँच्नु छ । उनको मनले भन्यो– रुस्दी बाँच् है बाँच् । चोटहरू यति गहिरा थिए कि रुस्दीले एकै झोक्कामा आफ्नो तौल भन्न सकेनन् । उनको उत्तर थियो, ‘टु फोर जेरो’ ।

जति नै मृत्यु–चिन्तनमा घोत्लिने दार्शनिक किन नहोउन्, जीवन लम्बियोस् भन्ने चाहन्छन् नै । सन् १९९६ को जनवरीमा भेनिटी फेयरको ‘प्राउस्ट क्वेसनायर’ मा रुस्दीलाई सोधिएको थियो, ‘तपाईं कसरी मर्न चाहनुहुन्छ ?’ रुस्दीको सिधा जवाफ छ, ‘म यो नै चाहन्नँ ।’ त्यस्तै रुस्दीले नचाहेकै हो आक्रमणबारे पुस्तक । ‘एउटा विन्दुमा म यो किताब लेख्नै चाहेको थिइनँ । हामीले भिडियो, अडियो र फोटोमा हामीमाथि घटेको घटना रेकर्ड गरिरहेका थियौं,’ उनी भन्छन् । अगस्ट १२ को आघात र भोगाइ सार्वजनिक गर्ने कि नगर्नेमा द्विविधामै थिए उनी । रुस्दी आख्यान नै लेख्न चाहन्थे । तर, जीवनको ठूलो गैरआख्यान–घटनाले ‘नाइफ’ जन्मायो ।

च्याप्टर ६ मा रुस्दी र ‘ए’ बीचको वार्तालाप छ, तर काल्पनिक । यो संवाद रुस्दी र उनले २७ सेकेन्ड मात्र भेटेका व्यक्तिबीचको हो । रुस्दीको साहित्यिक–सामर्थ्य नै मान्नुपर्छ– चार सेसनमा उनी आक्रमणकारीसँग कुरा गर्छन् । त्यसो त आक्रमणको केही समयपछि जेलमै गएर रुस्दी उसलाई भेट्न चाहन्थे । तर, पत्नी एलिजा र परिवारका सदस्यले मानेनन् । आक्रमणकारीले रुस्दीलाई ‘अविवेकी’ भनेको थियो । रुस्दी काल्पनिक वार्तामा ऊसँग त्यसको थप अर्थ खोज्छन्, ‘यसको अर्थ तिमीले सत्य बताइरहेको बहाना गरिरहेका छौ ।’ रुस्दी भने आक्रमणकारीलाई सम्झाउन खोज्छन्, ‘केही कुरा निश्चित छैन, तिम्रो परम्परा पनि । धेरै पहिले नै तिम्रा आफ्नै दार्शनिकहरूले पनि त्यसै भनेका छन् । उनीहरू भन्छन्– सबै कुराको व्याख्या हुन सक्छ, पुस्तकको पनि ।’ कल्पनामा पनि आक्रमणकारीले केही नबुझेपछि रुस्दी आजित हुन्छन् । ‘मैले कल्पना गरेँ, कुराकानी सकियो । जसरी ऊसँग मबारे कल्पना गर्ने क्षमता छैन, मसँग पनि ऊबारे थप कल्पना गर्ने ऊर्जा छैन ।’

२ भाग र ८ च्याप्टरमा विभाजित पुस्तकमा तीन मुख्य पात्र छन्, ‘एलिजा, उनी आफैं र ऊ (आक्रमणकारी) ।’ शरीरका चोट र त्यो आक्रमणले रुस्दीलाई मानसिक आघात पुगेको छ । त्यसमाथि एउटा आँखाको ज्योति गुम्दा झन् बज्रपात । तर पनि रुस्दी आफैंलाई आफ्नै पात्रहरूमार्फत सम्झाउँछन् र ‘ट्रमा’ बाट बाहिर निस्कन खोज्छन् । ‘मिडनाइट्स चिल्ड्रेन’ को सलिम सिनाईका आमाबुवामार्फत रुस्दी आफैंलाई सान्त्वना दिन्छन्, ‘जुन कुरा ठीक पार्न सकिँदैन, त्यो सहनै पर्छ ।’

एउटा चक्कुबारे मानिसले कति सोच्छ ? तर, रुस्दी अगस्ट–१२ को घटनापछि कैयन् रात चक्कु–आइडियामै घोत्लिए । केक काट्नदेखि बियरको बोतलको बिर्को खोल्नसम्म चक्कु प्रयोग हुन सक्छ । ‘बन्दुकले मान्छे मार्ने होइन, मान्छेले नै हो मान्छे मार्ने,’ यस्तै अलमलमा परे रुस्दी । बन्दुकको मुख्य काम भनेकै क्षति पुर्‍याउने हो, चाहे त्यो मान्छे होस् वा जनावर । तर, चक्कुको प्रयोजन त धेरै छ । चक्कु बन्दुकजस्तो त पक्कै होइन । यस्तै कुरा मनमा खेलाए रुस्दीले । उनी भन्छन्, ‘भाषा पनि एउटा चक्कु हो । यसले विश्वलाई काट्न सक्छ र यसको अर्थ, आन्तरिक कार्यप्रणाली, रहस्य र सत्यहरू उजागर गर्न सक्छ ।’ साँच्चिकै रुस्दीको भाषा धारिलो चक्कुजस्ता छन्, तर कसैलाई क्षति नपुग्ने ।

जब मृत्यु समीप आउँछ, बाँकी संसार तपाईंबाट टाढा भएजस्तो लाग्छ । त्यसबेला समानुभूतिका शब्दहरूले जिजीविषा बढाउँछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आक्रमणको निन्दा गरे, रुस्दीको शीघ्र स्वास्थ्यलाभको कामना गरे । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले स्वतन्त्रता र रुढीवादविरुद्धको लडाइँमा रुस्दीसँगै भएको सन्देश जारी गरे । तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि रुस्दीकै पक्षमा उभिए । तर, रुस्दी जन्मिएको र उनले माया गर्ने मुलुक भारतको मोदी नेतृत्वको सरकारबाट भने औपचारिक रूपमा केही भनिएन । ‘म जन्मिएको र मेरो प्रेरणाको स्रोत भारतबाट भने त्यो दिन केही पनि शब्द आएन,’ उनी भन्छन् । सीपीआई (एम) का नेता सीताराम येचुरी र कंग्रेस नेता शशि थरूरलगायतले भने आक्रमणको निन्दा गरेका थिए ।

पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (आघातपछिको तनावको समस्या–पीटीएसडी) ले मानिसमा शारीरिक र व्यावहारिक मात्र नभई मानसिक समस्या पनि निम्त्याउँछ । आघातको झल्को आइरहने, निराशा बढ्ने समस्या रुस्दीलाई भने भएन । ‘मलाई त्यस्तो लक्षण देखिएन । मलाई जे भयो, यही पुस्तक लेखेँ । मैले अहिले पनि सातामा केहीपटक नराम्रो सपना देख्ने गर्छु ।’ पुस्तकका केही पेजमा उनले देखेका सपना–फेहरिस्त छन् । बम्बई फर्कने पनि उनको सपना हो, ‘म मेरै प्यारो बम्बई(मुम्बई होइन) फकर्ने सपना देखिरहेको थिएँ ।

विमानबाट उत्रिनबित्तिकै भुइँ चुम्नै लागेको थिएँ, यसो माथितिर के हेरेको थिएँ, भीड मैतिर चिच्याउँदै थियो, ‘दफा हो ।’

आजभोलि ‘सेल्फ हेल्प’ मार्काका पुस्तकको पठन बढ्दो छ । सकारात्मक ऊर्जाका लागि रुस्दीको ‘नाइफ’ उदाहरणीय हुन सक्छ । एउटा आँखा गुमाउँदा रुस्दीलाई धेरै झस्काएको छ । ‘जब पट्टी हटाइयो आँखा डरलाग्दो थियो । आँखा गुम्यो । अप्टिक नर्भमा क्षति पुग्यो । उसले मलाई लगेन, मेरो आँखा लग्यो,’ उनी भन्छन् । पुस्तक त्रासदीपूर्ण आक्रमण र आघातबारे त हो नै, तर बीचबीचमा जोडिएका साहित्यिक सन्दर्भ र विषयान्तरले पाठक विचलित बन्दैनन् । कोर्नेल विश्वविद्यालयकी प्राध्यापक म्यारी ज्याकोबस ‘साइकोएनालिसिस एन्ड द सिन अफ रिडिङ’ मा स्मृति, आघात र इतिहासको अन्तरसम्बन्धबारे चर्चा गर्छिन् । रुस्दीले पनि आततायी घटनालाई सम्झना, इतिहास र साहित्यको अन्तरघुलन गरी पाठकमाझ पस्किएका छन्, जसले पाठकलाई झस्काउँदैन, सोचनीय बनाउँछ । आक्रमणपछिका दिनहरूमा पत्नी एलिजा र रुस्दी मिलेर भिडियो रेकर्ड गर्न थाले । ठूलो चोट र मानसिक आघातबाट बाहिर आउन जर्नल लेखन एउटा राम्रो उपाय हो । अमेरिकी मनोचिकित्सक ज्युडिथ हर्म्यान ‘ट्रमा एन्ड रिकभरी’ मा आघातपछिका तीन चरणले सामान्य जीवनमा फर्किन सक्ने उल्लेख गर्छिन् । पहिलो चरण– सुरक्षाको व्यवस्था, दोस्रो–स्मृति र विलौना हो भने तेस्रो सामान्य जीवनसँग जोडिनु । हर्म्यानले पछिल्लो समय ‘ट्रमा’ बाट बाहिर आउने चौथो चरण पनि सुझाएकी छन्– न्याय । रुस्दीको पुस्तकमा कविसमेत रहेकी एलिजासँगको भेट, प्रेम र विवाहका रुमानी किस्सासमेत छन् । ‘द सटानिक भर्सेस’ विवादका केही प्रसंगका साथै भारत, रुस, अमेरिकालगायतका मुलुकमा बढ्दै गएको तानाशाही प्रवृत्तिको राजनीतिसम्मका विषय रुस्दीले उधिनेका छन् ।

एउटा पार्टीमा पारदर्शी सिसाको ढोका छुट्याउन नसक्दा रुस्दी ठोक्किन पुग्छन् र चोट लाग्छ । त्यही ठोक्काइ नै हो रुस्दी–एलिजा प्रेमलाई कसिलो बनाउने सेतु थियो । ‘यदि म सिसाको स्लाइडवाला ढोकामा नठोक्किँदो हुँ त एलिजा र म कहिल्यै सँगै ट्याक्सी चढ्ने मौकै मिल्थेन, यो कुरा प्रस्ट छ,’ रुस्दी भन्छन् । त्यो दिन रुस्दीको चिन्ताले नै उनलाई घरसम्म पुर्‍याउन आएकी थिइन्, एलिजा । बात मार्दामार्दै उनीहरूले रात कटाए ।

बेलायती साहित्यकार हनिफ कुरैसी २ वर्षअघि एक्कासि रोममा लडेका थिए । ‘जब म अस्पतालमा थिएँ, निकै दिक्दारीमा थिएँ । घण्टौंसम्म मैले गर्न सक्ने केही काम थिएन । न त म मेरा हातहरू चलाउन सक्थेँ, न फोन चलाउन नै । कसैलाई इमेल पनि पठाउन सक्दिनथेँ । केवल भित्ता हेरेर टोलाएर बस्थेँ । तर, भित्तो हेरेर टोलाउनु सिर्जनात्मकताको उत्तम उपाय हो ।’

मिलान कुन्देरा भन्ने गर्थे, ‘एक बारको जिन्दगी हो । जे हुन्छ, त्यसलाई तपाईं संशोधन गर्न सक्नुहुन्न ।’ लेखनमा सयौं ड्राफ्ट तयार हुन्छन् । भूपिको सटारिकल सेल्फ–पोट्रेट जस्तै हो लेखन– केही लेख्ने, यसो हेर्ने, चित्त नबुझे केर्ने र फेरि

लेख्ने ! कुन्देरा यो पनि भन्थे– जिन्दगीको दोस्रो ड्राफ्ट हुँदैन । रुस्दी पनि त्यस्तै सोच्थे, तर अगस्ट–१२ को शारीरिक र मनोवैज्ञानिक आघातबाट बाहिर आएपछि भने रुस्दीलाई लाग्न थालेको छ– जिन्दगीले दोस्रो मौका पनि दिँदोरहेछ ।

चिकित्सक र सबै प्रियजनको सहयोगले रुस्दी अहिले जिन्दगीको दोस्रो ‘ड्राफ्ट’ बाँचिरहेका छन् । र, त उनी भन्छन्, ‘भाग्य, सर्जनहरूको सीप र प्रियजनहरूको मायाको संयोजनले मैले जीवनमा दोस्रो मौका पाएँ, जुन कुन्देरा असम्भव मान्थे ।’

सटानिक भर्सेस : रुस्दी अफेयर

पछिल्लो संस्मरण ‘नाइफ’ मा रुस्दी ‘सटानिक भर्सेस’ विवादबारे खासै चर्चा गर्दैनन् । ‘द गुड फेथ’ र ‘इज नथिङ सेक्रिड’ मा उनले सविस्तार लेखेका छन् । ‘सटानिक भर्सेस’ बारे बोल्दाबोल्दा उनी यति दिक्क भइसके कि भन्छन्, ‘सटानिक भर्सेसबारे कहिल्यै बोल्न नपरे म खुसी हुन्थेँ । सायद एक दिन मेरो खराब बदनाम पुस्तक र यसको बदमास लेखक दुवै फेरि स्वतन्त्र हुनेछन् ।’ रुस्दीलाई बरु नयाँ किताबबारे सोच्दा आनन्द आउँछ । लेखक–साथी मार्टिन अमिस भन्ने गर्थे, ‘कहिले ल्याउँछौ अर्को पुस्तक ?’

फेब्रुअरी १४, १९८९– भ्यालेन्टाइन डे । इरानी सर्वोच्च नेता खोमेनीले रुस्दीविरुद्ध फतवा जारी गरे । पुस्तक इस्लाम, कुरान र पैगम्बर मोहम्मदको बर्खिलापमा लेखिएको भन्दै यसका लेखक र प्रकाशनमा संलग्न सबैविरुद्ध फतवा जारी गरे । पुस्तकमाथि भारत, बंगलादेश, सुडान, श्रीलंका, पाकिस्तान, मलेसियालगायतका मुलुकले प्रतिबन्ध लगाए । पुस्तक–विरोधी हिंसात्मक प्रदर्शनमा मुम्बईमा १२ र इस्लामाबादमा ६ जना मारिए ।

रुस्दी मात्रै होइन, ‘सटानिक भर्सेस’ प्रकाशनमा जोडिएका मानिसहरूलाई तारो बनाइयो । जुलाई १९९१ मा जापानी अनुवादक हितोसी इगारासीको चक्कु हानी हत्या गरियो । इटालियन अनुवादक इत्तोर क्याप्रिओलो चक्कु प्रहारबाट गम्भीर घाइते भए । उपन्यासका नर्वेली प्रकाशक विलियम न्यागार्डलाई ओस्लोमा तीन पटक गोली हानियो । एउटा पुस्तकमा यति ठूलो बबन्डर मच्चियो । त्यसै वर्षको जुनमा खोमेनीको मृत्यु भयो । उनको मृत्युको थप १० वर्षसम्म पनि इरानले रुस्दीमाथि आधिकारिक रूपमै फतवा जारी राख्यो । सन् १९९८ मा भने अलि उदार मानिने तत्कालीन इरानी राष्ट्रपति मोहम्मद खतामीले इरानले उनको हत्याको समर्थन नगर्ने बताए । त्यसपछि झन्डै १० वर्षको भूमिगत जीवनपछि रुस्दी बाहिर आए ।

‘सटानिक भर्सेस’ को विरोधमा खोमेनीहरू मात्र होइन, तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टर, लेखकहरू जोन बर्गर, जर्मेइन ग्रिर, रोल्ड डाह्ल, खुशवन्त सिंहहरू पनि देखिए । खुशवन्त त्यतिबेला पेन्गुइन इन्डियाका सम्पादकीय सल्लाहकार थिए । भारतमा पुस्तक प्रकाशित नहुँदै विरोध भयो । पुस्तकको ‘टाइपस्क्रिप्ट’ पढेका खुशवन्तले प्रकाशकलाई सुझाएका थिए, ‘यसले ठूलो झमेला निम्त्याउन सक्छ । यसमा पैगम्बर मोहम्मद र कुरानबारे कैयन् अपमानजनक सन्दर्भ रहेका छन् ।’

बेलायती लेखक केनन मलिक ‘फ्रम फतवा टु जिहाद : द रुस्दी अफेयर एन्ड इट्स लिगेसी’ मा लेख्छन्, ‘सटानिक भर्सेसमाथि प्रतिबन्ध त लाग्थ्यो नै, चाहे त्यो पढिएको होस् चाहे नपढिएको । चाहे यसमा साहित्यिक र कलात्मक गुणको ओजिलो नै किन नहोस् ।’ रुस्दी–मामिलाको राजनीतिबारे बुझ्न चाहनेका लागि मलिकको यो किताब गतिलो खुराक हुन सक्छ ।

‘द सटानिक भर्सेस’ को स्वैरकाल्पनिक कथाले इस्लाम धर्म मान्नेहरूको आस्थाप्रति अपमान भयो भन्ने धेरैको आरोप छ । तर, रुस्दीले पटक–पटक भन्दै आएका छन्– ‘यो विशुद्ध कल्पना हो । यो पुस्तक इस्लामबारे भन्दा पनि बेलायत आएका आप्रवासीका खण्डित मनस्थिति, सांस्कृतिक रूपान्तरण, हीनताबोध र आत्मसम्मानमा पुग्ने चोट, प्रेम प्रतिशोध लन्डन र बम्बईबारे हो ।’ यदि धार्मिक आस्थामाथि नै प्रहार गरेको भए पनि त्यसको जवाफ चक्कु वा हत्या हुन सक्दैन । ‘मलाई धर्मसँग कुनै दुस्मनी छैन । तिमी आफ्नो ठाउँमा मान, तर तिम्रा मान्यताहरू अरूमाथि नथोपर । धर्मलाई राजनीतिक हतियार नबनाऊ,’ रुस्दी भन्छन् ।

बेलायती लेखक हनिफ कुरैसीले एकपटक भनेका थिए, ‘अहिले कसैले सटानिक भर्सेसजस्तो कृति लेख्ने हिम्मतै गर्दैनन् । प्रकाशनको त कुरा परै जाओस् । लेखकहरूलाई तर्साएर राखिएको छ ।’ स्वच्छ बहसबिना सभ्य समाज बन्न सक्दैन । रुस्दी ‘ल्याङ्वेजेज अफ ट्रुथ’ किताबमा लेख्छन्, ‘लोकतन्त्र विनम्र हुँदैन । प्राय: यो सार्वजनिक चौराहमा हुने चिच्चाहटपूर्ण खेलजस्तो हुने गर्छ । यदि यसमा हामी जित चाहन्छौं भने बहसमा सहभागी हुनैपर्छ ।’ ‘सटानिक भर्सेस’ कै एउटा पात्र भन्छ, ‘एउटा कविको काम नै हो, बेनामे बनाइएकाहरूलाई नाम दिने ।’

असहमतिलाई काट्ने अर्को असहमति नै हो । हिंसा कदापि यथोचित हुन सक्दैन । कुनैबेला लेखक पंकज मिश्र रुस्दीको खरो आलोचक थिए । मिश्रले आउटलुकमा ‘द ग्राउन्ड बिनिथ हर फिट’ माथि खरो समीक्षा लेखे । ‘आडम्बर, छद्म पात्र र गैर–घटनाले भरिपूर्ण’ पुस्तकले साहित्यलाई भन्दा नयाँ प्रकारको ‘साहित्य–विरोधी’ कन्टेन्टलाई प्रश्रय दिने मिश्रको मत थियो ।

एकपटक दिल्लीमा लेखक विलियम डेलरिम्पलले रुस्दी र ‘आउटलुक’ का तत्कालीन सम्पादक विनोद मेहतालाई दिवाभोजमा बोलाए । मेहताले यो प्रसंग आफ्नो संस्मरण ‘लखनऊ ब्वाय’ मा उल्लेख गरेका छन् । त्यही अवसरमा मेहता ‘आउटलुक’ र आफू दुवैको रुस्दीप्रति कुनै दूराभाव नभएको स्पष्टोक्ति दिन चाहन्थे । ‘समीक्षकको त्यो १७ सय शब्दको व्यक्तिगत विचार हो, तपाईंले मलाई दोष दिनुहुन्न होला,’ मेहताले भने । रुस्दी रिसाउँदै भने, ‘१७ सय ? १७ सय ४० शब्द हो त्यो समीक्षा ।’ रुस्दी आफूमाथि आउने समीक्षा र टिप्पणीमाथि निकै संवदेनशील बन्ने मेहताको बुझाइ छ । कुनै समय पश्चिममा भारत–पाकिस्तान आउनेबित्तिकै भीएस नयपाल अग्रपंक्तिमा आउँथे । तर, रुस्दीको आगमनपछि उनी नै ‘आधिकारिक आवाज’ जस्तै बने । मेहता भन्छन्, ‘रुस्दी भारतको प्रजातन्त्र, धर्मनिरपेक्षता, विविधतापूर्ण संस्कृतिमा आनन्दित हुन्छन् ।’ तर, रुस्दी पछिल्लो पुस्तक ‘नाइफ’ मा समेत भारतमा बढ्दै गएको धार्मिक तुष्टीकरण र राजनीतिक प्रयोगमाथि चिन्ता व्यक्त गर्छन् । ‘स्वतन्त्रता कसरी पाइन्छ ? यो लिने हो, कहिल्यै दिइँदैन । म एक स्वतन्त्र व्यक्ति हुँ भन्ने ठानेरै मैले ‘सटानिक भर्सेस’ लेखेको हुँ,’ रुस्दी भन्छन् ।

खोमेनीको ‘फतवा’ पछि झन्डै एक दशक रुस्दी ‘अन्डरग्राउन्ड’ भए । बिरालोले बच्चा सारेजस्तो रुस्दीले घर फेर्नुपर्‍यो । केनन मलिक ‘फ्रम फतवा टु जिहाद : द रुस्दी अफेयर’ मा लेख्छन्, ‘एक दशकसम्म रुस्दी भगौडाजसरी जीवन बाँच्न बाध्य भए । लगातार एउटा घरबाट अर्को घरमा । भूमिगत जीवनको पहिलो ५ महिनामा उनी ५७ वटा ओछ्यानमा सुते ।’ आफ्ना प्रिय लेखक जोसेफ कोनराड र एन्टन चेखबको नाम सापटी लिएर केही समय रुस्दी ‘जोसेफ एन्टन’ बने । त्यही नाममा उनले संस्मरण पनि लेखे । कतिपयले न्युयोर्कमा पूर्वसावधानी नअपनाएकै कारण रुस्दीमाथि आक्रमण भएको हो पनि भने । तर, आफ्नो संस्मरण ‘जोसेफ एन्टन’ मा रुस्दी लेख्छन््, ‘पूर्वसुरक्षा भन्ने केही हुँदैन । यो त असुरक्षाहरूको फरक तह मात्र हो । यसले त्यसैअनुसार बाँच्न सिक्नुपर्छ ।’ रुस्दी आफैं आफ्ना लागि गुरु हुन् । पात्रहरूमार्फत नै आफैंलाई सम्झाउँछन् उनी ।

‘सटानिक भर्सेस’ को सुरुवाती पंक्तिमा गिब्रिल फरिस्ताले भन्छ, ‘फेरि जन्मिन, तपाईं पहिले मर्नुपर्छ ।’ तर, रुस्दी भने आफ्ना हरेक नयाँ पुस्तकमा फरक अवतारमा जन्मिइरहेका छन्, जन्मिइरहने छन् । रुस्दीभन्दा अघि पनि केही कैयन् लेखकले आक्रमण सामना गर्नुपर्‍यो । अक्टोबर १४, १९९४ मा नोबेल विजेता लेखक नागुइब महफुजमाथि कायरोमा चक्कु हानियो । महफुज सधैं ‘सांस्कृतिक आतंकवाद’ को विरोधी थिए । त्यस्तै रुढिवाद र परम्परा भत्काउने आइरिस उपन्यासकार तथा नाटककार स्यामुयल बेकेटमाथि पनि १९३८ जनवरी ७ मा चक्कु हानिएको थियो ।

मे १०, १९३३ पुस्तकप्रेमीहरूका लागि सबैभन्दा कालो दिन हो सायद । हिटलर नेतृत्वको नाजी सरकारको आह्वानमा त्यस दिन हजारौं पुस्तक जलाइयो । सन् १९५३ मा प्रकाशित रे ब्राडबरीको उपन्यास ‘फरेनहाइट–४५१’ मा जस्तै । भविष्यमा अमेरिकी समाज कतिसम्म तानाशाही हुन सक्छ भन्ने त्यसमा देखाइएको छ, जसमा अग्निनियन्त्रकहरूको काम पुस्तक खोज्नु र दमकलको सहायताले जलाउनु हुन्छ । त्यही झल्को दिने काम हिटलरले गरे । ‘जर्मनविरोधी’ भन्दै हजारौं पुस्तक जलाइए । मार्क्सदेखि, बर्तोल्त ब्रेख्त, टमस म्यान, हेमिङ्वे र आइन्स्टाइनसम्मका पुस्तक खरानी बनाए ।

यस्ता घटनाले लेखकहरूलाई विचलित बनाएको छैन, बरु समाज अगाडि बढाउन झन् सशक्त र दर्बिलो बनेर उभिएका छन् ती । लेखकहरूकै झक्झकाइले नै समाज प्रश्न सोध्ने तहसम्म पुगेको हो ।

प्रकाशित : वैशाख २२, २०८१ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?